काठमाडौं, २२ साउन । युनिग्लोब एस.एस./कलेजमा आयोजित तीन दिने युनिग्लोब ह्याकाथन १.० कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युनिग्लोब एस.एस./कलेजको ‘एमआईएस इन्टरफेस’ को लागि वेब डेभलपमेन्ट भन्ने मुख्य विषयमा आधारित यस प्रतिस्पर्धामा २० टिम सहभागी थिए, जसमा प्रत्येक टिममा तीन जना विद्यार्थी सहभागी थिए ।
तीन दिनसम्म सञ्चालन भएको यो ह्याकाथनले विद्यार्थीहरूलाई सिर्जनशीलता, सामुहिक सहकार्य, समस्या समाधान गर्ने सीप तथा आधुनिक प्रविधिको प्रयोग गर्ने अवसर प्रदान गरेको थियो । प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरूले ‘एमआईएस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम इन्टरफेस निर्माणमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कुल ४० हजार रुपैयाँ बराबरको पुरस्कार राशी रहेको थियो । कार्यक्रमको टाइटल स्पोन्सर एक्पर्ट भिजन कन्सल्टेन्सीले गरेको थियो भने आईपीएस वल्र्ड लिंक नेटवर्क पार्टनरको रूपमा थियो । साथै, चिया आर्केडले पनि सह(प्रायोजकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
युनिग्लोब ह्याकाथन १.० मा उत्कृष्ठ प्रदर्शन गरेका विजयी टिमहरूलाई नगद पुरस्कारसहित मेडल र प्रसंशा–पत्र द्वारा सम्मान गरिएको थियो । पहिलो स्थान Uni–Elite टिमले प्राप्त गरेको हो, जसमा सक्षम उपाध्याय, निष्चव मानसिंह प्रधान र अनुप उप्रेती सदस्य थिए । उनीहरूले नगद १५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रसंशा–पत्र पाएका थिए ।

प्रदर्शनमा Syntax Error टिम दोस्रो भएका थिए, जसमा निलक्स श्रेष्ठ, गृष्मा श्रेष्ठ र कृतम जोशी थिए । उनीहरूले नगद १२ हजार पुरस्कार प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा टिम STARK ले स्थान बनाएको थियो, जसमा सम्यक भट्टराई, फ्रान्सिस राफेल पाण्डे र अर्पण वाग्ले थिए । उनीहरूले नगद १० हजार रुपैयाँ पुरस्कार हात पारे । साथै चौथो स्थान प्राप्त गर्ने टिमलाई ३ हजार रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधिमा आधारित प्रतिस्पर्धात्मक अनुभव दिनुका साथै आफ्ना विचार र सीप प्रस्तुत गर्ने खुला मञ्च दिएको आयोजकको भनाइ छ । युनिग्लोब आईटी क्लबद्वारा आयोजना गरिएको यो ह्याकाथन भविष्यका लागि विद्यार्थीहरूलाई थप प्रेरित बनाउने विश्वास लिइएको छ ।
कार्यक्रम समापनमा बोल्दै विद्यालयका ई.सी.ए. तथा सी.सी.ए. कार्यक्रम संयोजक एन.बि. गुरुङ्गले प्रतियोगितामा सहभागी सबै टिमहरूको उत्साह र सिर्जनशीलता प्रशंसायोग्य रहेको र यस्ता सिर्जनात्मक तथा नवप्रवर्तनमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
