काठमाडौं, २३ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको म्यादभित्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विशेषगरी सिँचाइसँग जोडिएका आयोजनाहरू ढिलो हुँदा सुक्खाग्रस्त क्षेत्रका बासिन्दा थप समस्यामा परिरहेको गुनासो गरेका हुन् ।
विशेष समयमा बोल्दै सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरे । उनले मधेश क्षेत्र क्रमशः सुक्खाग्रस्त बन्दै गइरहेको सन्दर्भमा चुरे क्षेत्रबाट ढुङ्गा–गिट्टी निकासी रोक्नुपर्ने मागसमेत गरे ।
सांसद शर्माले कानुनी शासनको प्रत्याभूति सुनिश्चित गर्नुपर्ने र सरकारी निकायमा खर्च कटौतीसम्बन्धी प्रस्तावलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसैबीच सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा नेपाली नागरिक बेपत्ता भएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उनीहरूको खोजी तथा उद्धारमा सरकार सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
यही साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको बाढीले २२ जना नेपाली सम्पर्कविहीन भएको उनले बताइन् । बेपत्ता भएकामध्ये अधिकांश जाजरकोट, बर्दिया र धादिङ जिल्लाका नागरिक रहेको जानकारी दिइन् ।