काठमाडौं, २३ साउन । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलको निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।
जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो ।
अब नेपािलले बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
३२ राष्ट्रको सहभागिता रहेको यस छनोट खेलमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।