काठमाडौं, २५ साउन । गत असार २३ गते रसुवामा आएको बाढी–पहिरोले पुर्याएको क्षतिमा साढे ९८ करोडबढि बीमा दाबी परेको छ । साउन २२ गतेसम्ममा ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार कुल ७८ वटा बीमा दाबी दर्ता भएका छन् । दाबीमध्ये सम्पत्ति बीमा सबैभन्दा बढी छ भने सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा छन् ।
बीमा कम्पनी अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा धेरै ५५ करोड रुपैयाँको दाबी परेको छ । त्यसपछि शिखर इन्स्योरेन्समा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्समा ८ करोड ७३ लाख र सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी दर्ता भएको छ ।
अन्य कम्पनीहरूमध्ये नेको इन्स्योरेन्समा ५ करोड ६७ लाख, सगरमाथा–लुम्बिनीमा २ करोड ६५ लाख, युनाइटेड अजोडमा ९१ लाख, आइजीआई प्रुडेन्सियलमा ७६ लाख ७० हजार, एनएलजीमा ४७ लाख, सिद्धार्थ प्रिमियरमा ३१ लाख र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ ।
लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्क गरिएका सवारीसाधन, रसुवागढी हाइड्रोपावरसहितका संरचनामा ठूलो क्षति पुर्याएको थियो ।
