ट्रम्प–पुटिन वार्ता योजनामा युरोपको समर्थन, तर युक्रेनको भूभाग सुम्पने प्रस्ताव अस्वीकार

अनलाइनसमय |
२५ साउन २०८२
ट्रम्प–पुटिन वार्ता योजनामा युरोपको समर्थन, तर युक्रेनको भूभाग सुम्पने प्रस्ताव अस्वीकार

काठमाडौं, २५ साउन । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्ध अन्त्यका लागि हुने वार्ता योजनालाई स्वागत गरेका छन् । तर उनीहरूले युक्रेनलाई निरन्तर समर्थन र रुसमाथि दबाब कायम राख्दै न्यायपूर्ण र दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।

शनिबार राति फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, बेलायत र युरोपेली आयोगले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अडानलाई समर्थन गरेका छन् । जेलेन्स्कीले रुसलाई भूभाग सुम्पेर शान्ति खोज्ने कुनै पनि प्रस्ताव अस्वीकार गर्ने बताएका थिए ।

ट्रम्पले तीन वर्ष लामो युद्ध अन्त्य गर्ने वाचा गर्दै आएका छन् । उनले शुक्रबार अलास्कामा पुटिनसँग भेट गर्ने योजना बनाएको अल जजिराले उल्लेख गरेको छ । ट्रम्पका अनुसार दुबै पक्षबीच सम्झौता नजिकिएको छ, जसमा ‘दुवैको फाइदाका लागि केही भूभागको अदला–बदली’ हुनसक्ने संकेत छ । तर यसले युक्रेनलाई ठूलो भूभाग गुमाउने खतरा हुने भन्दै जेलेन्स्की र उनका युरोपेली सहयोगीहरू यसलाई रुसको आक्रामकता बढाउने कदमका रूपमा देखिरहेका छन् ।

युरोपेली नेताहरूले युद्ध अन्त्यका लागि सक्रिय कूटनीति, युक्रेनको समर्थन र रुसमाथि दबाब—यी सबै आवश्यक भएको बताएका छन् । साथै कुनै पनि सम्झौताले युक्रेन र युरोपको सुरक्षालाई सुनिश्चित गर्नुपर्ने उनीहरूको अडान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस