काठमाडौं, २५ साउन । बंगलादेशको प्रमुख निर्वाचन आयुक्त (सीईसी) एएमएम. नासिर उद्दिनले देशमा सन् २०२६ को फेब्रुअरी पहिलो साता आमनिर्वाचन हुने घोषणा गरेका छन् ।
शनिबार रंगपुरस्थित प्रदेशीय आयुक्तको सम्मेलन कक्षमा प्रशासन र सुरक्षा निकायसँग कानून–व्यवस्था विषयक विचार–विनिमय कार्यक्रममा सीईसी उद्दिनले १३ औं राष्ट्रिय संसदको चुनाव २०२६ को फेब्रुअरी पहिलो साता हुने घोषणा गरेको बंगलादेशको सरकारी समाचार एजेन्सी (बीएसएस)ले जनाएको छ ।
कार्यक्रममा उद्दिनले पत्रकारसँग भनेका छन, “निर्वाचन तालिका सम्भवतः नोभेम्बर महिनाको सुरुवातमा अर्थात् मतदान मिति भन्दा करिब दुई महिना अघि सार्वजनिक हुनेछ ।”
सीईसी नासिर उद्दिनले समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको दोहोर्याउँदै, त्यसका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए ।
यस्तै उनले निर्वाचनमा अव्यवस्था सिर्जना गर्ने कुनै पनि अवसर नदिइने स्पष्ट पारेका छन् । उनका अनुसार कानून कार्यान्वयन निकायहरू यसबारे उच्च सतर्कतामा रहनेछन् ।
शनिबार रंगपुरस्थित प्रदेशीय आयुक्त मोहम्मद शाहिदुल इस्लामको अध्यक्षतामा भएको बैठकमा प्रदेश प्रहरी नायब निरीक्षक जनरल (डीआईजी) मोहम्मद अमिनुल इस्लाम, महानगरीय आयुक्त मोहम्मद माजिद अली, बिओबी, असंर तथा भीडीपी, आरएबी–१३, कोस्ट गार्ड, डीजिएफआई, एनएसआईका उच्च अधिकारी, रंगपुर क्षेत्रीय निर्वाचन अधिकृत, सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी), जिल्ला निर्वाचन अधिकारी लगायत अन्य अधिकारीहरू सहभागी थिए ।
बैठकमा सीईसी उद्दिनले भने, “यदि कुनै घटना घटेमा आवश्यक छानबिनपछि मतदान रोक्ने निर्णय गर्न सकिनेछ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र सबैको स्वीकार्य हुने गरी सम्पन्न गर्न आयोगले आवश्यक सबै कदम चाल्नेछ ।”
यस्तै उनले निर्वाचनमा खटाइने अधिकारीहरूको मूल्यांकन भइरहेको र अझ मूल्यांकन गरी निर्वाचनमा कसलाई खटाउने भन्ने निर्णय आयोगले बताएका छन् ।
बैठकमा प्रदेशीय आयुक्त, प्रदेश प्रहरी प्रमुख, महानगरीय प्रहरी आयुक्तलगायतका अधिकारीहरूले आफ्नो–आफ्नो निकायको क्षमता र तयारीबारे सीईसीलाई जानकारी गराएका थिए ।
सीईसीले हालको कानून–व्यवस्था अवस्था राम्रो रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाएर जनतालाई शान्ति र नडराई आफ्नो मनपर्ने उम्मेदवारलाई भोट हाल्ने वातावरण बनाउन चाहेको बताएका छन् । “वर्षौँदेखि मानिसहरू मतदान केन्द्र जान बिर्सिसकेका छन् । कतिपयले त मतदान गरेर के हुन्छ भन्ने सोच पनि राखेका छन ्। यो मानसिकता हटाउनु निर्वाचन आयोगको ठूलो चुनौती हो,” उनले भने ।
यसका लागि जनचेतना आवश्यक रहेको भन्दै उनले पत्रकारहरूको जिम्मेवार भूमिका हुने बताए । “यसमा पत्रकारहरूको सहयोग र सुझाव हामीलाई चाहिन्छ,” उनले भने । उद्दिनले कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग हतियारभन्दा पनि ठूलो चुनौती भएको टिप्पणी गरे ।