गाजामा युद्ध विस्तारको योजनाविरुद्ध इजरायलमा प्रदर्शन

अनलाइनसमय |
२५ साउन २०८२
गाजामा युद्ध विस्तारको योजनाविरुद्ध इजरायलमा प्रदर्शन

काठमाडौं, २५ साउन । गाजामा युद्ध विस्तार गर्ने सरकारको योजनाविरुद्ध इजरायलभर प्रदर्शन चर्किएको छ । प्रदर्शनमा गाजामा रहेका ५० बन्धकका परिवारसहितका नागरिक सहभागी भएका हुन् ।

शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले युद्ध अन्त्यका लागि पाँच बुँदा तय गरेको बीबीसीले उल्लेख गरेको छ । जसमा गाजा क्षेत्रमा ‘सुरक्षाको नियन्त्रण’ लिने निर्णय पनि समावेश थियो । इजरायली सेनाले गाजा सिटीको नियन्त्रण लिन तयारी गर्ने बताएको छ ।

प्रदर्शनकारीहरूले युद्ध विस्तारले बन्धक र सैनिक दुवैको ज्यान जोखिममा पार्ने दाबी गर्दै तत्काल बन्धक मुक्ति र युद्ध अन्त्यको माग गरेका छन् । यरुशलममा केही पूर्वसैनिकहरूले पनि युद्ध जारी राख्न अस्वीकार गरेका छन् ।

इजरायली सेनाका प्रमुख एयाल जामिरले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजाको पूर्ण कब्जा ‘फन्दामा फस्ने’ कदम भएको चेतावनी दिएका छन् । सर्वेक्षणले अधिकांश इजरायली नागरिकले हमाससँग सम्झौतामार्फत बन्धक मुक्ति र युद्ध अन्त्य चाहेको देखाएको छ ।

अन्तर्राष्ट्रिय समुदायले गाजामा मानवीय सहायता प्रवेश गराउन आग्रह गरेको छ । हामासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भोकमरीका कारण दुई बालबालकसहित पाँच जनाको मृत्यु भएको छ । हालसम्म कुपोषणका कारण मृत्यु हुने संख्या २१७ पुगेको छ ।

७ अक्टोबर २०२३ मा हमास आक्रमणपछि सुरु भएको युद्धमा गाजामा ६१ हजार ३०० भन्दा बढीको मृत्यु भएको मन्त्रालयको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस