समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

अनलाइनसमय |
२७ साउन २०८२
समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राजीनामा गरेका हुन् । बैठकमा खतिवडाले सभामुख देवराज घिमिरेसँग संसदमा बोल्नका लागि विशेष समय मागेका थिए ।

संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ’कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको त्रुटिका कारण उनीमाथि प्रश्न उठेको थियो । निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले ’कुलिङ अफ पिरियड’को व्यवस्था पारित गरेको थियो । तर विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधान खण्डित हुने व्यवस्था कायमै राखिएको थियो ।

समितिले पारित गरेको विधेयक प्रतिनिधिसभाले पारित गरेपछि ’कुलिङ अफ पिरियड’को व्यवस्थामा छलछाम भएको सार्वजनिक भएको थियो । उक्त छलछाम कसले गरेको भन्ने पत्ता लगाउन कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा संसदीय विशेष समिति गठन गरिएको थियो । उक्त समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन विशेष समितिको प्रतिवेदनमा लेखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस