काठमाडौं, २८ साउन । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ । साथै देशभर पुर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । मधेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राती गण्डकी, लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पुर्णतया बदली रही बाँकी भू–भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।