काठमाडौं, २८ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको पक्ष लिन दबाब दिने प्रयास गर्ने भएका छन् । बीबीसीका अनुसार अनलाइन कलमार्फत् नेताहरूले ट्रम्पलाई युक्रेनबिना कुनै निर्णय नगर्न र बल प्रयोग गरेर सीमाना परिवर्तनको प्रयास अस्वीकार गर्न समेत आग्रह गर्ने छन् ।
ट्रम्पले पहिले नै शान्ति सम्झौतामा केही भूभाग साटासाट हुने संकेत दिएका थिए । रिपोर्ट अनुसार पुटिनको एक प्रमुख माग युक्रेनले अझै नियन्त्रणमा राखेका डोनबासका भागहरू छोड्नु हो ।
मंगलबार जेलेन्स्कीले यस्तो सम्झौता भविष्यमा रुसलाई थप आक्रमण गर्ने बहाना दिने चेतावनी दिए । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण थालेको थियो ।
रूसी सेनाले पूर्वी शहर डोब्रोपिलिया नजिक अचानक आक्रमण गर्दै छोटो समयमै १० किलोमिटर अघि बढेको छ ।
रुसको प्रगति कम महत्वको भएको बताए पनि जेलेन्स्कीले पुटिन–ट्रम्पको बैठकअघि रुसले युक्रेन पछि पर्छ, रुस अघि बढ्छ भन्ने सन्देश दिन चाहेको आरोप लगाए ।
पुटिनले शुक्रबार एङ्करेजमा ट्रम्पसँगको बैठकमा के–कस्तो माग राख्ने भन्ने कुरा भने आधिकारिक रूपमा खुलाइएको छैन ।
डोनबास क्षेत्रमा पर्ने लुहान्स्क र डोनेट्स्क सन् २०१४ देखि आंशिक रूपमा रुसको कब्जामा छन् । अहिले रुसले लुहान्स्कको अधिकांश भाग र डोनेट्स्कको करिब ७०% भाग नियन्त्रणमा राखेको छ । तर जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै डोनबास छोड्ने कुनै प्रस्ताव युक्रेनले अस्वीकार गर्ने स्पष्ट पारे ।