काठमाडौं, २८ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बुधबार अख्तियारले प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूले चाँगुनारायण नगरपालिकामा १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने नाममा सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।
अख्तियारले असार ३१ गते आचार्यको मोवाइल डिभाइस र कार्यालय सहयोगी टिकाराम राउतको साथबाट मोवाइल डिभाइस एवं घुस रकम २४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरूविरूद्ध घुस लिएको रकम बराबर बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको उनले बताए ।