काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन ।
शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ ।
यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
शांघाई सहयोग संगठन (एससीओ)मा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् । क्षेत्रीय स्थीरतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००१ मा यो संगठनको स्थापना भएको थियो । यस संगठनमा नेपाल सन् २०२० देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।
यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।
प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।