काठमाडौं, ३० साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ । आज साउन ३० गतेदेखि खुला गरिएको आईपीओ यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गरिएको बिक्री वितरणपछि दोस्रो चरणमा ल्याइएको हो ।
संस्थाले कुल जारी पूँजीको ४० प्रतिशत बराबरको २ लाख ३१ हजार कित्ता (२ करोड ३१ लाख रुपैयाँ) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि र २३ हजार १०० कित्ता विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको थियो ।
अब बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध गराइनेछ । यस अनुसार दोस्रो चरणको आईपीओको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुन्छ ।
आवेदन अवधि भदौ ३ गतेसम्म रहनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी२’ प्रदान गरेको छ, जसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।