काठमाडौं, २ भदौ । पछिल्लो एक वर्षमै वैदेशिक लगानी प्रतिबद्धता करिब २ गुणाले बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को एक महिनामै विभिन्न क्षेत्रका लागि विदेशी लगानीकर्ताले २६ अर्बभन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन् ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना (साउन)मा नेपालमा स्वचालित प्रणाली (अटोमेटिक रूट), स्वीकृति र शेयर खरिदलगायतमा १३५ उद्योगका लागि २६ अर्ब १० करोड ३९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही महिनाको तुलनामा १९४ दशमलव ३९ प्रतिशतले बढी हो । गत आवको साउनमा यस्तो प्रतिबद्धता ८ अर्ब ८६ करोड ७० लाख रुपैयाँ मात्रै आएको थियो ।
साउनमा अप्रुभल रूटबाट सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ । सो महिनामा अप्रुभल रूटबाट ४६ उद्योगका लागि २३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । त्यस्तै अटोमेटिक रूटबाट ८१ उद्योगका लागि ७३ करोड ७ लाख र शेयर खरिदबाट ८ उद्योगमा १ अर्ब ९९ करोड ९० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालू आवको साउनमा ४६८ वटा साना उद्योग र २ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सो आवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ८ हजार २६८ जनाले रोजगारी पाउनेछन् ।
सुरुदेखि चालू आवको साउनसम्म विदेशी लगानीकर्ताले ७ हजार ३६६ उद्योगका लागि ६ खर्ब ७५ अर्ब ५२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा ३ लाख ५४ हजार ६९२ जनाले रोजगारी पाउनेछन् ।
प्रतिबद्धताको ८३ प्रतिशत कृषि क्षेत्रमा
विभागका अनुसार साउनमा कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । सो अवधिमा आएको कुल लगानी प्रतिबद्धतामध्ये कृषि क्षेत्रमा ८३ दशमलव १५ प्रतिशत अर्थात् २० अर्ब ४ करोड ५५ लाख रुपेयाँ प्राप्त भएको छ । यो क्षेत्रका ३ वटा उद्योगका लागि यस्तो प्रतिबद्धता आएको हो ।
त्यस्तै पर्यटन क्षेत्रमा ३ अर्ब २ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता भित्रिए पर्यटन क्षेत्रका ४१ उद्योग स्थापना हुने छन् । साउनमा आईसीटी क्षेत्रमा ७१ उद्योगका लागि ३६ करोड ५२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
