काठमाडौं, ३ भदौ । युक्रेनले शान्ति सम्झौता भएपश्चात् अमेरिकी सुरक्षा ग्यारेन्टी पाउने उद्देश्यले १०० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव गरेको छ । द टेलिग्राफका अनुसार यो खरिदको लागत युरोपले बेहोर्ने भएको हो ।
फाइनान्यिल टाइम्सका अनुसार यस योजनाअन्तर्गत अमेरिका र युक्रेनले ५० अर्ब डलर बराबरको ड्रोन उत्पादन सम्झौतामा पनि हस्ताक्षर गर्ने तयारी गरेका छन् । यसमा युक्रेनी कम्पनीहरू सहभागी हुनेछन् ।
सोमबार राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीच ओभल अफिसमा भएको भेटवार्तामा ट्रम्पले युद्ध सकिएपश्चात् युक्रेनलाई अमेरिकी सैन्य सहयोग दिने सहमति जनाएका थिए । यो सम्झौता प्रस्ताव ट्रम्पलाई आफ्नो पक्षमा ल्याउने युक्रेनको रणनीति मानिएको छ ।