काठमाडौं, ४ भदौ । भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
यसअघि मंगलबार आयोजित प्रि–म्याच कन्फेरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका थिए ।
आजदेखि सुरु भएको प्रतियोगिता भदौ १५ गते (अगस्त ३१ सम्म) चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।
नेपालले आज आफ्नो पहिलो खेल भारतसँग खेल्न लागेको हो । त्यस्तै नेपालले अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका छ ।
आजै हुने अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोली :
गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्डः अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।