काठमाडौं, ४ भदौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीच प्रत्यक्ष भेट हुने सम्भावना कम रहेको छ । ह्वाइट हाउसमा सोमबार भएको छलफलपछि दुई नेताबीच भेटबारे छलफल भएको बताइए पनि क्रेमलिनले त्यसलाई अस्वीकार गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तापछि पुटिनका सहयोगी युरी उशाकोभले रुस–युक्रेनबीच प्रतिनिधि स्तरको बैठकबारे अध्ययन गर्न सकिने बताएको सीएनएनले जनाएको छ । तर पुटिन वा जेलेंस्कीको नाम लिइएको छैन ।
रुसी परराष्ट्र मन्त्री सेर्गेई लावरोभले मंगलबार राज्य टेलिभिजनमा बोल्दै हामी द्विपक्षीय वा त्रिपक्षीय कुनै पनि संवाद अस्वीकार नगर्ने बताएका थिए । तर शीर्ष स्तरको भेटवार्ता सावधानीपूर्वक तयारीपछि मात्र सम्भव हुने उनको भनाइ छ ।
यसअघि मे महिनामा टर्कीमा भएको प्रत्यक्ष वार्तामा जेलेंस्की आफैं सहभागी भए पनि पुटिनले प्रतिनिधि टोली मात्र पठाएका थिए ।
कार्नेगी रसिया युरेशिया सेन्टरकी विज्ञ टाटियाना स्तानोभायाका अनुसार पुटिनका लागि यो युद्ध युक्रेनभन्दा पनि पश्चिमसँगको टकराव हो । उनका अनुसार पुटिनले ट्रम्पमार्फत आफ्ना मागहरू युक्रेनमाथि थोपर्न सक्ने विश्वास गरेका छन् ।
यसैबीच सोमबार राति रुसले युक्रेनका विभिन्न सहरमा २७० ड्रोन र १० मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ ।