काठमाडौं, ४ भदौ । सरकारले पशुपन्छीमा लाग्ने सङ्क्रामक रोग नियन्त्रण गर्न नयाँ कानुनी व्यवस्थाको तयारी गरेको छ । तयार पारिएको ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८२’को मस्यौदामा रोग लुकाउने वा रोकथाममा बाधा पुर्याउनेलाई कडा सजायको प्रावधान राखिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विधेयक सर्वसाधारणको राय संकलनका लागि सार्वजनिक गरेको हो ।
विधेयक अनुसार रोगको सूचना लुकाउने वा सरकारी आदेश उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । साथै रोग नियन्त्रणको क्रममा नष्ट गरिएको पशुधनको लागि पीडित किसानलाई राहत र क्षतिपूर्ति दिने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।
