लिपुलेक हुँदै सीमा व्यापार गर्ने चीन र भारतबीच सहमति

अनलाइनसमय |
४ भदौ २०८२
लिपुलेक हुँदै सीमा व्यापार गर्ने चीन र भारतबीच सहमति

काठमाडौं, ४ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ ।

नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो ।

दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । त्यसको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमानापार व्यापार पुनः सुरु गर्न सहमत भएका छन् ।’
गलवान उपत्यकामा भएको तनावपछि भारत–चीनबीच तनावको परिस्थिति सिर्जना भएको थियो । त्यो घटनापछि दोस्रो पटक उच्चस्तरीय भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

त्यस्तै प्रत्यक्ष हवाई उडान, सिमानावर्ती व्यापार पुनः सुरु गर्ने तथा लगानी सहज बनाउने विषयमा सहमति भएको छ ।

चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन, “गत वर्ष कजानमा राष्ट्रपति सीसँगको भेटपछि भारत–चीन सम्बन्ध आपसी चासो र संवेदनशीलतालाई सम्मान गर्दै अघि बढिरहेको छ । तियानजिनमा फेरि भेटघाटको प्रतीक्षा गरेको छु । स्थिर र सकारात्मक सम्बन्धले क्षेत्रीय तथा विश्व शान्तिमा योगदान पु¥याउनेछ ।’

यसैबीच भारत–चीन दुवै पक्षले सीमा व्यवस्थापनका लागि कम्तीमा तीन नयाँ संयन्त्र बनाउन सहमति भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । भारतीय परराष्ट्र मन्त्रालयका अनुसार दुबै देशले प्रत्यक्ष हवाई उडान चाँडै सुरु गर्ने, पर्यटक तथा व्यवसायीलाई भिसा सहज बनाउने सहमत गरेका छन् ।

दुवै पक्षले जलसम्बन्धी सहयोग बढाउने, आपतकालीन अवस्थामा तथ्यांक बाँड्ने र चीनले यारलुङ साङ्पो नदीमा बनाउन लागेको ठूलो बाँधबारे पारदर्शिता आवश्यक रहेको भारतको मागलाई ध्यानमा राख्ने सहमति भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस