अनलाइनमार्फत वित्तीय ठगी बढ्दो, सुरक्षा र सावधानीका उपाय के ? (भिडियो रिपोर्ट)
अनलाइनसमय |
६ भदौ २०८२
काठमाडौं, ६ भदौ । पछिल्लो समय नेपालमा अनलाइन तथा सामाजिक सञ्जालको दुरुपयोगमार्फत वित्तीय अपराधका घटना बढ्न थालेका छन् । डिजिटल माध्यमको प्रयोग गरी नयाँ स्वरूपका ठगी हुन थालेको नेपाल प्रहरीले हालै सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।
नेप्से एआईसम्बन्धी उक्त घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिंक खोल्न नहुनेमा सचेत गराएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्षमा ब्यूरोमा परेका उजुरीमध्ये एक तिहाईभन्दा बढी अनलाइन ठगीसँग सम्बन्धित छन् ।
साइबर सुरक्षाविद्का अनुसार वित्तीय ठगी गर्नेहरूले आम प्रयोगकर्ताको चासो, वित्तीय साक्षरताको कमी र मनोविज्ञान बुझेर सोहीअनुसारका ठगीका उपाय अपनाएका हुन्छन् ।
आधुनिक प्रविधिले वित्तीय सेवाको पहुँच सहज बनाए पनि यसको दुरुपयोगको जोखिम बढ्नु चिन्ताको विषय हो । डिजिटल प्रविधिमार्फत मूलतः दुई किसिमबाट ठगी हुने गरेको पाइएको छ ।
वित्तीय अपराधका घटना विगतमा पनि हुने गरेकोमा पछिल्लो समय यसका नयाँ स्वरूप देखापरेका हुन् । विशेषगरी अनलाइन माध्यमबाट हुने ठगीबाट बच्न कुनै पनि अपरिचित लिंक तथा एप नखोल्न र डाउनलोड नगर्न समेत साइबर ब्यूरोको अनुरोध छ ।
नेपालमा बढ्दो साइबर अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि राष्ट्रव्यापी सचेतना अभियानकै खाँचो रहेको औंल्याइएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र १८ हजार ९२६ उजुरी साइबर ब्युरोमा दर्ता भएका । यसमध्ये सबैभन्दा धेरै, ७ हजार ७२४ उजुरी वित्तीय ठगीका छन् । त्यसपछि अकाउन्ट ह्याकिङसम्बन्धी उजुरी ३ हजार ५०३ छन् ।
हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :