काठमाडौं, ६ भदौ । सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ प्रहरी जवानसहितका विभिन्न पदमा भर्ना खुलाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले ८ सय ४६ जनाका लागि भर्ना खुलाएको हो ।
जवानमा ७८६ जनाको लागि भर्ना खुलेको छ । त्यस्तै भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।
यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ । सूचनाअनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति असोज २२ गते तोकिएको छ । सशस्त्र प्रहरी जनानमा आवेदन दिएकाले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा र सशस्त्र प्रहरी परिचरमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।
योग्यता पुगेकाले १० रुपैयाको टिकट टासी (स्वयम उपस्थित भइ) आफुलाइ पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको ७५ वटा कार्यालयहरुमा दरखास्त दिनुपर्नेछ ।
उमेर हद १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको हुनुपर्नेछ । कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, पुरुषको हकमा ५ फिट २ इन्च तथा तौल ५० केजी, महिलाको लागि पाँच फिटतथा तौल ४२ केजी, पुरुषको हकमा छाती नफुलाउदा कम्तीमा ३० इन्च र फुलाउदा ३२ इन्च, आँखा मानइस २ वा प्लस २ भन्दा कमजोर नभएको, निरोगिताको प्रमाणपत्र प्राप्त गरेको, नैतिक पतनदेखि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको आदि लगायतका न्यूनतम योग्यताहरु तोकिएको छ ।