काठमाडौं, ७ भदौ । आज भाद्र कृष्ण औंसीको दिन, नेपाली समुदायमा विशेष गरी पितालाई सम्मान प्रकट गर्दै बुबाको मुख हेर्ने दिन मनाइँदैछ । हिन्दू धर्मशास्त्रअनुसार आमापछिको दोस्रो गुरुका रूपमा पितालाई सम्मान गर्ने प्राचीन परम्परा रही आएको छ । यो दिनमा जीवित पितालाई मनपर्ने परिकार बनाएर खुवाउने, कपडा तथा उपहार अर्पण गर्ने र दिवंगत पिताको आत्माको शान्तिका लागि श्राद्ध, पिण्डदान तथा तपर्ण गर्ने चलन छ । यस दिनलाई गोर्कण औंसी, कुसे औंसीसमेत भनिन्छ ।
हिन्दू धर्मशास्त्रमा पितालाई संतानका गुरु, पालक र रक्षकका रूपमा उल्लेख गरिएको छ । माता जसरी जीवन दिने स्रोतका रूपमा मानिन्छिन्, त्यस्तै पिता संतानलाई शिक्षा, संस्कार र कर्ममार्गमा अघि बढाउने आधार मानिन्छन् ।
यस दिन बिहानै घर–घरमा छोराछोरीले आफ्ना बुबालाई मिठा परिकार खुवाउने गर्छन् । दूध, दही, मिठाई, फलफूलदेखि परम्परागत नेपाली खानेकुरा दाल, भात, तरकारी, अचारसम्मको व्यवस्था गरिन्छ । विवाहित छोरीहरू विशेषगरी माइत गएर बुबाको मुख हेरेर आशीर्वाद लिने परम्परा छ ।
क्षमताअनुसार नयाँ लुगाफाटा, धोती, कुर्ता, टोपी वा आधुनिक उपहारहरू अर्पण गर्ने चलन छ । यसरी बुबालाई सम्मान गर्दा ‘आयु, आरोग्य र सन्तानको प्रगति हुने’ धार्मिक विश्वास छ ।
जसका पिता दिवंगत भइसकेका छन्, उनीहरूले यस दिन श्राद्ध गरेर पितृ तर्पण गर्ने गर्छन् । विशेष गरी काठमाडौं उपत्यकाका बासिन्दा गोकर्णेश्वर मन्दिर पुगेर पिण्डदान र जलतर्पण गर्ने परम्परा रहिआएको छ ।
गोकर्ण क्षेत्रलाई उत्तर गयाश्रेष्ठ भनिन्छ । यहाँ श्राद्ध गर्दा भारतको काशीस्थित गया क्षेत्रमा श्राद्ध गरेजस्तै फल प्राप्त हुने विश्वास छ । संस्कृतिविद्हरूका अनुसार चन्द्रमती, सूर्यमती र बाग्मती नदीको संगम त्रिवेणीमा स्नान गरी विधिपूर्वक पिण्डदान गर्दा पितृहरू मुक्त हुने मान्यता रहिआएको छ । पौराणिक कथन अनुसार गोकर्ण ऋषिले आफ्ना पिताको उद्धार गर्न श्राद्ध गरेको कथा यस पर्वसँग जोडिएको छ । त्यही कारण गोकर्णेश्वरलाई पितृ उद्धार स्थल मानिन्छ ।
बुबाको मुख हेर्ने दिन धार्मिक मात्र नभई सामाजिक महत्व बोकेको दिन पनि हो । पिताप्रति सम्मान प्रकट गर्ने, पिढीगत सम्बन्धलाई बलियो बनाउने र परिवारमा संस्कारको संरक्षण गर्ने माध्यमका रूपमा यस दिनलाई लिन सकिन्छ ।