सर्त नमाने गाजा सहर ध्वस्त पार्ने इजरायको चेतावनी

अनलाइनसमय |
६ भदौ २०८२
सर्त नमाने गाजा सहर ध्वस्त पार्ने इजरायको चेतावनी

काठमाडौं, ६ भदौ । हमासले हतियार बुझाएर सबै बन्धकलाई नछाडे गाजा सहर पूर्ण रूपमा ध्वस्त पार्ने इजरायले चेतावनी दिएको छ । इजरायली मन्त्रिपरिषदले गाजामा ठूलो सैन्य आक्रमण गर्ने योजना पारित गरेलगत्तै रक्षा मन्त्री इजरायल काट्जले यस्तो चेतावनी दिएका हुन् ।

बीबीसीका अनुसार यो योजनाविरुद्ध अन्तर्राष्ट्रिय र आन्तरिक स्तरमा आलोचना भइरहेको छ । यसअघि सोमबार हमासले कतार र इजिप्टको मध्यस्थतामा ६० दिनको युद्धविरामको प्रस्ताव स्वीकार गरेको थियो । उक्त प्रस्ताव अनुसार बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने बताइएको थियो । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई अस्वीकार गर्दै इजरायललाई स्वीकार्य हुने शर्तमा मात्र युद्धविराम र सबै बन्धकको मुक्तिको वार्ता हुने बताएका छन् ।

इजरायलका अनुसार २२ महिनाको युद्धपछि बाँकी ५० बन्धकमध्ये २० जना मात्र जीवित छन् । नेतान्याहूले सैनिक मुख्यालयमा दिएको भिडियो वक्तव्यमा गाजा सहर नियन्त्रणमा लिन र हमासलाई पराजित गर्ने योजना अनुमोदन गरेको बताए ।

रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि हमासले इस्रायलका शर्त मान्दैन भने गाजासिटी पनि रफाह र बेइत हानुन जस्तै भग्नावशेषमा परिणत हुनेछ ।’ यी दुबै शहर पहिले नै इजरायली आक्रमणपछि ध्वस्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस