एक वर्षमै भित्रियो १७.२३ खर्ब रेमिट्यान्स, गत आवमा विदेशिए ८.३९ लाख युवा

अनलाइनसमय |
८ भदौ २०८२
एक वर्षमै भित्रियो १७.२३ खर्ब रेमिट्यान्स, गत आवमा विदेशिए ८.३९ लाख युवा

काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ दशमलव २ प्रतिशतले बढी हो । सो वर्ष विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकोे वित्तीय विवरणअनुसार २०८२ असारमा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको असारमा १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।

गत आवमा वैदेशिक रोजगारीका लागि ५ लाख ५ हजार ९५७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् भने ३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस