काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा यस्तो कर्जा ८ दशमलव ४ प्रतिशत अर्थात् ४२३ अर्ब ७३ करोडले बढेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ५ दशमलव ८ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२ दशमलव ८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७ दशमलव २ प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव ३ प्रतिशत र ३६ दशमलव ७ प्रतिशत रहेको थियो ।
यस्तै निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८ दशमलव ६ प्रतिशत, विकास बैंकहरूको ६ दशमलव १ प्रतिशत र वित्त कम्पनीहरूको ८ दशमलव ४ प्रतिशतले बढेको छ ।
गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६४ दशमलव ७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४ दशमलव ५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०८१ असार मसान्तमा यो अनुपात क्रमशः ६६ दशमलव ५ प्रतिशत र १३ दशमलव २ प्रतिशत थियो ।
आव २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७ं दशमलव ९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव ५ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३ दशमलव ४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १२ दशमलव ८ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा ७ दशमलव १ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ दशमलव ९ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५६ दशमलव २ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ५१ दशमलव १ प्रतिशत, हायर पर्चेज कर्जा ३ दशमलव ७ प्रतिशत र डिमान्ड तथा चालु पँुजी कर्जा १३ दशमलव २ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १० दशमलव ४ प्रतिशतले घटेको तथ्यांक छ ।