काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा शोधनान्तर स्थिति करिब ६ खर्बले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा आव२०८०/८१ मा ३ अर्ब ७७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति गत वर्षमा ४ अर्ब ३७ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा चालू खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो रकम २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । सो वर्ष अमेरिकी डलरमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालू खाता गत आवमा ३ अर्ब १ करोडले बचतमा रहेको छ ।
समीक्षा वर्षमा खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १२ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो प्रत्यक्ष लगानी ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।