काठमाडौं, ८ भदौ । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा धितोपत्र बजार पुँजीकरण ३१ दशमल ०४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको बजार पुँजीकरण गत असार मसान्तसम्ममा बढेर ४६ खर्ब ५६ अर्ब ९९ करोड कायम भएको हो ।
२०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२ दशमलव २५ प्रतिशत रहेकोमा गत असार मसान्तमा ७६ दशमलव २५ प्रतिशत रहेको छ ।
गच आवमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४ दशमलव १ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव ३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७ दशमलव ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५ दशमलव ४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५ प्रतिशत, होटेलको हिस्सा २ दशमलव ७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९ दशमलव ८ प्रतिशत रहेको तथ्यांक छ ।
नेप्सेमा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आव २०८१/८२ मा ४० अर्ब २१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २४ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर, १३ अर्ब २३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १५ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी ४५ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।