काठमाडौं, ९ भदौ । गत आर्थिक वर्ष (आव)मा सवारीसाधन किन्न चाहने उपभोक्ता र व्यवसायीहरूका लागि बैंक तथा वित्तीय संस्थाले दिने हायर पर्चेज कर्जा बढेको छ । सस्तो ब्याजदर र सहज किस्तामा व्यावसायिक/व्यक्तिगत कार, ट्रक, बस, हेभी इक्विपमेन्ट लगायत सवारीसाधन तथा कृषि मेसिनरी खरिद गर्न सकिने भएपछि यस्तो कर्जा पनि बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आव २०८१/८२ मा हायर पर्चेज कर्जा ३ दशमलव ७ प्रतिशतले बढेको हो । गत साउनमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँ रहेको यस्तो कर्जा असारसम्म आइपुग्दा बढेर १ खर्ब २८ अर्ब ६९ करोड पुगेको छ ।
यद्यपि २०८२ को असार मसान्तसम्म व्यावसायिक प्रयोजनका हायर पर्चेज कर्जा भने घटेको छ । सो अवधिमा यस्तो कर्जा ८६ अर्ब १० करोड रुपैयाँ रहेको छ, जुन गत आवको साउनको तुलनामा १ दशमलव ३ प्रतिशत कम हो । २०८२ को साउनमा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको थियो ।
सो अवधिमा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने हायर पर्चेज कर्जा भने १५ दशमलव ६ प्रतिशतले बढेको देखिन्छ । गत साउनमा ३६ अर्ब ८४ प्रवाह भएको कर्जा असारसम्ममा ४२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
