काठमाडौं, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेकी हुन् ।
भेटमा नेपाल र भियतनामबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताए । नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत् जस्ता क्षेत्रहरुमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन् २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देशबीच बृहत् सम्बन्धको फ्रेमवर्क बनाउन जरुरी भएको उल्लेख गरिन् ।