काठमाडौं, ९ भदौ । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरीद बिक्री भइरहेको भन्ने जानकारी पाएपछि शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सुन जस्तो देखिने धातु १ किलोग्रामसहित पक्राउ गरेको हो ।
साथै उक्त सुन जस्तो देखिने धातुको परीक्षण गर्दा सुन नभई सुन जस्तो भान पारी लाक्पाले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।