हरितालिका तीज आज

अनलाइनसमय |
१० भदौ २०८२
हरितालिका तीज आज

काठमाडौं, १० भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ । महिलाहरूले बिहानैदेखि भगवान् शिव–पार्वतीको पूजा–अर्चना गरी निराहार तथा निर्जला व्रत बसिरहेका छन् । हिन्दु महिलाले पतिका दीर्घायु, अटल सौभाग्य र परिवारको सुख–समृद्धिका लागि तीज व्रत गर्ने परम्परा रहिआएको छ ।

हिजो दर खाने परम्परा पूरा भएपछि आज महिलाहरू निराहार रहँदै गीत, नृत्य र धार्मिक अनुष्ठानमा सहभागी भएका छन् । जनविश्वास अनुसार पार्वतीले कठोर तपस्या गरी महादेवलाई वरका रूपमा प्राप्त गरेकी थिइन्, त्यहीँ विश्वासले तीज पर्वको शुरुवात भएको मानिन्छ ।

तीजको अवसरमा राजधानीमा पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा विशेष पूजाआजा भइरहेको छ । विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनलाई सहज बनाउन आज बिहान ३ बजेदेखि नै पशुपति मूल मन्दिरका चारै ढोका खुला गरिएको छ ।

दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, चन्दन–प्रसाद वितरण, आकस्मिक स्वास्थ्य सेवा, जुत्ता–चप्पल व्यवस्थापनदेखि व्रतालु महिलाका लागि गौदान गर्ने स्थलसम्म सबै तयारी गरिएको कोषले जनाएको छ ।

आजको दिनलाई लक्षित गरी सरकारले महिला कर्मचारीलाई बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस