आईपीओ ल्याउँदै श्री एयरलाइन्स

अनलाइनसमय |
१० भदौ २०८२
आईपीओ ल्याउँदै श्री एयरलाइन्स

काठमाडौं, १० भदौ । श्री एयरलाइन्सले सर्वसाधारणका लागि पहिलो पटक आईपीओ ल्याउने भएको छ । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको हो ।

साढे दुई दशकदेखि नेपाली आकाशमा सेवा दिँदै आएको श्री एयरलाइन्स अहिले आन्तरिक हवाई बजारको करिब १६ प्रतिशत हिस्सा ओगटेर तेस्रो स्थानमा रहेको छ । कम्पनीका मुख्य लगानीकर्ता कार्यकारी अध्यक्ष सुधीर मित्तल हुन् भने संस्थापक अध्यक्ष स्व. बनवारीलाल मित्तल रहेका थिए । अहिले मित्तल परिवारको झण्डै ९९ दशमलव ८९ प्रतिशत सेयर स्वामित्व छ ।

आईपीओ जारी गर्ने प्रस्तावलाई अनुमोदन गर्ने उद्देश्यले कम्पनीले असोज २ गते बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभामा आईपीओ निष्काशनसँग सम्बन्धित प्रक्रिया, प्रबन्धपत्र–नियमावली संशोधन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति जस्ता विषयमा छलफल गरिनेछ ।

हाल श्री एयरलाइन्सले १० वटा बम्बार्डियर विमान सञ्चालनमा राखेको छ, जसमा ३ जेट र ७ टर्बो प्रोप्स (२ भाडामा) रहेका छन् । यस्तै रोटरी विङतर्फ ६ एमआई–८ हेलिकप्टर र २ एयरबस हेलिकप्टर प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति जमाएको एयरलाइन्सले पछिल्लो समय पोखरा र सुर्खेत हुँदै नयाँ गन्तव्यतर्फ उडान विस्तार गरिरहेको छ । यसले बजार हिस्सा थप बढाउने र आम्दानी वृद्धिमा टेवा पु¥याउने कम्पनीको अपेक्षा छ ।

वित्तीय विवरणअनुसार, चालु आव २०८१/८२ को पहिलो ६ महिनामा मात्र श्री एयरलाइन्सले २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । यसअघि सन् २०२४ मा ४ अर्ब ७ करोड रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस