काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छपाइका लागि प्रक्रिया अघि बढाएको छ । यसअन्तर्गत ४३ करोड थान नोट छपाइ गरिने बैंकले जनाएको हो ।
बैंकले आज अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । प्रस्ताव पेस गर्ने समयसीमा आगामी अक्टोबर ९ तारिखसम्म निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार बोलपत्र थापाथलीस्थित बैंकिङ विभागमा बुझाउनुपर्नेछ । प्रस्ताव पेस गर्ने कम्पनीले २० हजार रुपैयाँ वा विदेशी मुद्रामा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड बराबरको धरौटी राख्नुपर्नेछ ।
छनौटमा पर्ने कम्पनीले नयाँ नोटको डिजाइन तयार गर्ने, छपाइ गर्ने र आपूर्ति गर्ने सम्पूर्ण जिम्मेवारी पाउनेछन् ।