काठमाडौं, १० भदौ । बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरणविरुद्धका कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशन जारी गर्दै यससम्बन्धी नियम तोडफोड गर्ने कम्पनीलाई सजाय हुने व्यवस्था गरेको हो ।
‘सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आमविनाशकारी हतियारसम्बन्धी वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२’ नाम दिइएको उक्त प्रावधान अनुसार बीमा कम्पनीले नियम पालना नगरे जरिवाना वा आवश्यक परे इजाजतपत्र नै खारेज हुने चेतावनी दिइएको छ ।
प्राधिकरणले निर्देशनमा नियम उल्लंघन गर्ने बीमकलाई १० लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने र दोहोरिँदा वा सीधै लाइसेन्स खारेज गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै बीमालेख जारी गर्न समेत रोक लगाउने अधिकार प्राधिकरणलाई दिने गरी प्रावधान राखिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा बीमा ऐन, २०७९ को आधारमा जारी गरिएको यो निर्देशन भदौ ४ गते स्वीकृत भएको हो । स्वीकृत मितिबाट ३१ औँ दिनपछि मात्रै यो कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बीमा कम्पनीहरूलाई सचेत रहन आग्रह गर्दै निर्देशन उल्लंघनबाट प्रणालीगत जोखिम बढ्न सक्ने भएकाले कारबाहीको विकल्प नभएको स्पष्ट पारेको छ ।
