काठमाडौं, ११ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राती कोशी, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।