काठमाडौं, ११ भदौ । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा.लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गरेको छ । उपभोक्ताले दिएको गुनासोको आधारमा गरिएको परीक्षणमा सिलबन्दी बोतलमै झिँगा जस्तो अखाद्य पदार्थ फेला परेपछि महानगरले सो उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना तिरेको हो ।
भदौ ४ गते एक उपभोक्ताले महानगर प्रहरीमा उजुरी गर्दै मदिरामा झिँगा भेटिएको जानकारी दिएका थिए । त्यसपछि विभागले नमुना संकलन गरी परीक्षण गर्दा अखाद्य पदार्थ रहेको प्रमाणित भएको हो । महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ बमोजिम यसलाई अनुचित व्यापारिक गतिविधि मानेर कारबाही अघि बढाएको जनाएको छ ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा बुझाइसकेपछि मात्र प्रक्रिया पूरा हुनेछ । यस्तै महानगरले बजारमा बिक्री वितरण भइरहेका खाद्य तथा पेय पदार्थको गुणस्तरप्रति निरन्तर अनुगमन र निगरानी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।