काठमाडौं, १२ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका धेरै स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।