काठमाडौं, १२ भदौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको प्राथमिक शेयर (आईपीओ) आज बिहान बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका अनुसार बिहान १० बजे बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार गरिएको बाँडफाँडमा १९ हजार ५१९ जनाले समानरुपमा १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँडफाँडपछि बाँकी रहेका ५ कित्ता सेयर भने सोही समूहका ५ जनाले थप १ कित्ता पाएका छन् ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टै कोटा अन्तर्गत शेयर वितरण भइसकेको थियो । पहिलो चरणमा असार २७ देखि साउन ९ गतेसम्म जारी गरिएको २३ हजार १०० कित्तामध्ये आवेदन गर्ने २ हजार ३१० जनालाई साउन १६ गते १०–१० कित्ताका दरले सेयर बाँडफाँड गरिएको थियो ।
विदेशी रोजगारीतर्फ बिक्रीपछि बाँकी रहेका २ लाख ७ हजार ९०० कित्तामध्ये कम्पनीका कर्मचारीलाई १ हजार १५५ कित्ता, सामूहिक लगानी कोषलाई ११ हजार ५५० कित्ता सुरक्षित राखी बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न असार ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । सो आईपीओलाई आईक्रा नेपालले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।