रुसी आक्रमणबाट कीभमा बालबालिकासहित १५ जनाको मृत्यु

अनलाइनसमय |
१२ भदौ २०८२
रुसी आक्रमणबाट कीभमा बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडौं, १२ भदौ । कीभ (युक्रेन)मा रुसले ड्रोन र मिसाइलमार्फत् आक्रमण गर्दा कम्तीमा १५ जनाको ज्यान गएको छ । मृतकमध्ये ४ जना बालबालिका रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

अनुसार मृतक हुनेमा २, १४ र १७ वर्षका बालबालिका रहेको कीभ सहर मिलिट्री प्रशासनका प्रमुख तिमुर टकाचेनकोको भनाइ उद्वत गर्दै सीएनएनले लेखेको छ । साथै कम्तीमा १० जना बालबालिका घाइते भएका छन् ।

युक्रेनी वायुसेनाले जानकारी दिए अनुसार रुसले एकै रातमा ६२९ प्रकारका हवाई आक्रमण हतियार प्रयोग गरेको थियो । यसमा ५९८ ड्रोन र ३१ मिसाइल समावेश थिए ।

उच्च–प्रशिक्षित हतियार प्रयोग गरी युक्रेनका सैन्य उद्योग र हवाई बेस लक्षित गरिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले यस आक्रमणलाई नागरिकहरूको योजनाबद्ध हत्या भन्दै कडा आलोचना गरेका छन् । उनले यो आक्रमणलाई विश्वभर शान्ति र कूटनीतिक समाधानको माग गर्नेहरूप्रति प्रत्यक्ष जवाफ भएको बताए ।

घटनापछि करिब ५०० उद्धारकर्मी र एक हजार प्रहरी खटिएका छन् । आक्रमणमा युरोपेली संघको युक्रेनस्थित कार्यालय भवन समेत क्षति पुगेको जनाइएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनले यो आक्रमणप्रति आक्रोश व्यक्त गर्दै रुस युक्रेनलाई आतंकित पार्न कुनै सीमा नमान्ने आरोप लगाइन् । उनले युरोपेली संघले रुसमाथि अझ कडा प्रतिबन्ध लगाउने बताइन् ।

यस्तै बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पनि रुसले ब्रिटिश काउन्सिलको भवनलाई समेत क्षति पुर्‍याएको जनाउँदै पुटिन बालबालिका र सामान्य नागरिकको हत्या गर्दै शान्तिको सम्भावनालाई नष्ट गरिरहेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस