काठमाडौं, १५ भदौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हालको चुक्ता पूँजी बराबरकै १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार एक कित्ता शेयरधनीले बराबरी अनुपातमा थप एक कित्ता शेयर पाउने व्यवस्था हुनेछ ।
यो योजनाअन्तर्गत बैंकले कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरका २६ लाख २४ हजार ६७६ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याउन लागेको छ ।
यसअघि भदौ ९ गते बुकक्लोज गरिएको थियो । त्यस्तै भदौ ८ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनीहरु मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज २२ गते तोकिएको छ ।
इक्रा नेपालले यस निष्काशनका लागि बैंकलाई इक्राएनपी इश्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ । यस रेटिङ्गले बैंकको वित्तीय दायित्व निर्वाह गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले उक्त कम्पनीसँगै ग्लोबल आइएमई बैंकका भुमही, नवलपरासी शाखा तथा नारायणी डेभलपमेन्ट बैंकका केन्द्रिय कार्यालयसहित यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।