काठमाडौं, १६ भदौ । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयरको बाँडफाँट सम्पन्न गरिसकेको हो ।
८३ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले त्यसको ३५ प्रतिशत बराबर २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो । यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई र २ लाख ७ हजार ५०० कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइ भर्खरै बाँडफाँट गरिएको हो । त्यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३ हजार ७५० कित्ता र कर्मचारीका लागि ६२ हजार २५० कित्ता सुरक्षित राखिएको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गर्दैछ । यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उपलब्ध हुनेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । निष्काशन अवधि छिटोमा भदौ १९ गतेसम्म रहनेछ भने ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ ।
यस आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी इश्युअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।