काठमाडौं, १६ भदौ । अफगानिस्तानको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ । द टेलिग्राफका अनुसार आइतबार राति पाकिस्तान सीमासँग जोडिएको जलालाबाद नजिकै ६ म्याग्निच्यूडको भूकम्प गएको हो । मध्यराततिर गएको भूकम्पपछि लगातार पराकम्प पनि महसुस गरिएको थियो।
नुर गुल, सोकी, वाटपुर, मानोगी र चापादारे जिल्लामा मात्रै २५० जनाको मृत्यु र पाँच सयभन्दा बढी घाइते भएको कुनार प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
भूकम्प प्रभावित कुनार र नंगरहारका डोंगराकक क्षेत्रमा उद्धारकर्मीहरू अझै घाइते र बेपत्ताहरू खोजिरहेका छन् । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले सामाजिक सञ्जालमा लेख्दै सबै उपलब्ध स्रोत प्रयोग गरेर उद्धार कार्य भइरहेको बताएका छन् ।
‘दुखको कुरा, यो भूकम्पले हाम्रो पूर्वी प्रान्तमा ठूलो क्षति पुर्याएको छ,’ उनले भने, ‘स्थानीय अधिकारी र बासिन्दाहरू उद्धारमा सक्रिय छन्, साथै केन्द्र र नजिकका प्रान्तबाट सहयोग टोली पठाइएको छ ।’
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भत्किएका घरबाट मानिसहरू उद्धार कार्य गरिरहेको देखिन्छ । कुनार प्रान्तमा सैनिक बोकेको हेलिकप्टर पुगेको दृश्य पनि सार्वजनिक भएको छ ।