काठमाडौं, १६ भदौ । नेपालका ठूला १० वाणिज्य बैंकहरूको ऋण गुणस्तर परीक्षण गर्ने काम बंगलादेशी कम्पनी हाउलाडार युनुस एण्ड कम्पनीले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकसँगको सम्झौता अनुसार कम्पनीले आगामी जनवरी अन्त्यसम्म पाँच महिनाभित्र सम्पूर्ण परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ ।
यसका लागि गत बिहीबार राष्ट्र बैंक र उक्त कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय अनुभवसहितको कम्पनीलाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धात्मक प्रस्तावमध्ये बंगलादेशी कम्पनीले पेश गरेको २७१ हजार ६७० अमेरिकी डलर ५ सेन्ट बराबरको प्रस्ताव स्वीकृत भएको छ ।
परीक्षणमा हालै मर्जर तथा अधिग्रहण भएका बैंकहरू ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंक पर्छन् । साथै एनआईसी एशिया बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंक पनि समावेश हुनेछन् ।