काठमाडौं, १७ भदौ । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई छुट्याइएको शेयर बाँडफाँट सकिएपछि अब साधारण लगानीकर्ताका लागि आईपीओ खुला हुन लागेको हो ।
कम्पनीलाई १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति मिलेको छ । यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि र ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै ४३ हजार ५६० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ ।
सर्वसाधारण लगानीकर्ताका लागि भने ११ लाख ९० हजार ६४० कित्ता शेयर खुला हुनेछन् । प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।
न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन भदौ २९ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ८ गतेसम्म म्याद थपिनेछ ।