ट्रम्पद्वारा भारतमाथि व्यापारमा एकतर्फी सम्बन्धको आरोप

अनलाइनसमय |
१७ भदौ २०८२
ट्रम्पद्वारा भारतमाथि व्यापारमा एकतर्फी सम्बन्धको आरोप

काठमाडौं, १७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा लगाइँदै आएको कर हटाउने प्रस्ताव गरेको बताएका छन् । तर उनले भारतसँगको व्यापारिक सम्बन्धलाई पूर्ण रूपमा एकतर्फी भन्दै आलोचना पनि गरेका हुन् ।

ट्रम्पको यो टिप्पणीबारे भारतले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन । तर रुससँगको तेल व्यापारका कारण वाशिङ्टन र दिल्लीबीचको सम्बन्ध हालसम्मकै न्यून स्तरमा पुगेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताउँदै आएका छन् ।

गत हप्तादेखि भारतबाट आउने सामानमा अमेरिकाले ५० प्रतिशतसम्म कर लागू गरेको छ, जसमा रुससँगको तेल व्यापार नरोकेको कारण थप २५ प्रतिशत दण्डात्मक कर समेत समावेश छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तिआनजिनमा भइरहेको शंघाई सहयोग संगठन सम्मेलनमा सहभागी भएका छन् । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे ।

वाशिङ्टनले भारतलाई रुससँग तेल र हतियार किनेर अप्रत्यक्ष रूपमा युक्रेनमाथिको युद्धलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

‘भारतले प्रायः तेल र सैन्य सामान रुसबाट किन्न्छ, तर अमेरिकाबाट निकै कम,’ ट्रम्पको भनाइ उद्वत् गर्दै बीबीसीले लेखेको छ ।

भारतले भने ऊर्जा आवश्यकताका कारण रुसी तेल अत्यावश्यक भएको बताउँदै आएको छ । भारतले अमेरिकाले लगाएका करलाई अन्यायपूर्ण र आधारहीन भनेको छ ।

भारतीय वाणिज्य मन्त्री पियुष गोयलले गत हप्ता भारत आर्थिक सम्बन्धमा कहिल्यै झुक्ने वा कमजोर देखिने छैन भन्दै जोसँग पनि स्वतन्त्र व्यापार सम्झौता गर्न भारत तयार रहेको बताएका थिए ।

‘थोरैले मात्र बुझ्छन् भारतसँग हाम्रो व्यापारिक कारोबार निकै कम छ, तर भारतले हामीसँग ठूलो मात्रामा व्यापार गर्छ,’ ट्रम्पले भनेका छन्, ‘उनीहरू हामीलाई सामान बेच्ने सबैभन्दा ठूलो ग्राहक पाउँछन्, तर हामी उनीहरूलाई धेरै कम बेच्छौं, यो धेरै दशकदेखि एकतर्फी सम्बन्ध हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस