काठमाडौं, १८ भदौ । वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने सल्यान बागचौर नगरपालिका–९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बस्ने दैलेख नौमुले गाउँपालिका–२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन् ।
रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितबाट १९ लाख ८५ हजार रूपैयाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरू मध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।