पाँचदिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

अनलाइनसमय |
१८ भदौ २०८२
पाँचदिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर आज स्वदेश प्रस्थान गरेका छन् ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई स्वेदेशका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरे । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार उनी आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन् ।

प्रधानमन्त्री ओली भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीनको तियानजिन पुगेका थिए । ओलीले भदौ १६ गते तियान्जिनमा आयोजना भएको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।

आजै बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मालगायत उच्चस्तरीय सरकारी अधिकारीहरू छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस