प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्– दर्ता नभएका सामाजिक सञ्जाल अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै

अनलाइनसमय |
१९ भदौ २०८२
प्रधानमन्त्रीका मुख्य सल्लाहकार भन्छन्– दर्ता नभएका सामाजिक सञ्जाल अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै

काठमाडौं, १९ भदौ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपालका सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सर्वोच्च अदालतको आदेश बमोजिम निष्क्रिय हुँदै जाने बताएका छन् ।

रिमालले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म धेरैका लागि लतझैँ बनेको बताएका छन् ।

रिमालले फेसबुकमा लेखेका छन्, ‘ प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौं स्टाटस मार्फत् आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ । केही गरी यी प्लेटफर्महरु बन्द भयो भने के होला भन्ने जिज्ञासा उठ्छ ।’

रिमालले सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु,स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको स्मरण गराएका छन् । उनले सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका छन् ।

‘सायद, केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ । सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्,’ रिमालले लेखेका छन् ।

लतकै रुपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लेटफर्म चाँडोभन्दा चाँडो सूचिकृत होउन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस