काठमाडौं, १९ भदौ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले दज्र्यानी चिह्न लगाएका छन् ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा खापुङलाई गृह सचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
यही भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी आइजीपी नियुक्त गरेको थियो ।
निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालेका हुन् । थापालाई बुधबार गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले औपचारिक कार्यक्रम गर्दै बिदाइ गरेको थियो ।
आइजीपी खापुङले आजै प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्ने छन् । उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् । यदि उनकै पालामा नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ ।