फ्लस गर्दा ध्वनि कम, अबेर राति कुकरमा सिटी नलगाउँन प्रहरीको अनुरोध

अनलाइनसमय |
१९ भदौ २०८२
फ्लस गर्दा ध्वनि कम, अबेर राति कुकरमा सिटी नलगाउँन प्रहरीको अनुरोध

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ‘शान्त र अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै ध्वनि प्रदूषण नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

प्रहरीका अनुसार अनावश्यक आवाजका कारण गर्भवती महिला, मुटुरोगी, वृद्धवृद्धा तथा बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक जीवनमा असर पर्ने भएकाले दैनिक जीवनमा साना–साना सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

प्रहरीले नागरिकलाई राति फोन गर्दा आवाज कम गर्न, सके हेडफोन प्रयोग गर्न र सन्देशमार्फत संवाद गर्न सुझाएको छ । त्यस्तै भान्सामा भाँडाकुँडा बजाउने, राति ढोका ढकढक्याउने वा बेल बजाउने कार्य नगरी आवश्यक परेमा फोन प्रयोग गर्न आग्रह गरिएको छ ।

बिहानको शान्त वातावरण कायम राख्न अनावश्यक खोक्ने–खकार्ने नगर्न, गेट खोल्दा वा अन्य काम गर्दा आवाज कम गर्न र मोटरसाइकल वा अन्य सवारी साधन टाढा लगेर मात्र स्टार्ट गर्न सुझाव दिइएको छ । राति शौचालयको फ्लस प्रयोग गर्दा ध्वनि कम गर्ने, बिहान सबेरै वा राति प्रेसर कुकरमा सिटी नलगाउने, घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्ने र सडकमा अनावश्यक हल्ला नगर्ने अनुरोध पनि गरिएको छ ।

सामाजिक तथा धार्मिक गतिविधिमा समेत ध्वनि नियन्त्रण गर्नुपर्ने प्रहरीको भनाइ छ। मन्दिर, गुम्बा वा मस्जिदमा पूजा–प्रार्थना गर्दा ठूलो आवाज नगरी मर्यादित रूपमा गर्न र सवारी साधनमा प्रेसर हर्न वा ठूलो आवाज आउने मोडिफिकेसन नगर्न अपिल गरिएको छ ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्तिहरू वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको चेतावनीसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस